अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, २४२ यात्रु सवार

लन्डनका लागि उडेको बोइङ ड्रीमलाइनर विमान उडान भरेको केहीबेरमै दुर्घटनाग्रस्त

पढ्नै पर्ने

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ। प्राप्त प्रारम्भिक जानकारी अनुसार, अहमदाबादबाट लन्डनका लागि उडेको उक्त विमान बिहीबार दिउँसो मेघानीनगर क्षेत्रमा खसेको हो।एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए। विमानले सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि नै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले उल्लेख गरेको छ।

घटनास्थलबाट प्राप्त दृश्यहरूमा आकाशमा बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ, जसले दुर्घटनाको भयावह स्थितिलाई दर्शाउँछ। दुर्घटनाको खबर पाउनासाथ आपतकालीन सेवाहरू तत्काल घटनास्थलमा परिचालन गरिएको छ। हालसम्म ७ वटा दमकलसहित उद्धारकर्मीहरूको टोली घटनास्थलमा पुगिसकेको र उद्धार कार्य जारी राखेको स्थानीय प्रशासनले जनाएको छ।

अहिलेसम्म दुर्घटनाको कारण र मानवीय क्षतिको यकिन विवरण आइसकेको छैन। एयर इन्डिया तथा नागरिक उड्डयन प्राधिकरणले घटनाबारे आधिकारिक जानकारी सार्वजनिक गर्न बाँकी छ। प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिई सर्वसाधारणलाई त्यसतर्फ जान रोक लगाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?