नेपाल राष्ट्र बैंकले लामो रस्साकस्सिपछी नेतृत्व पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८ औं गभर्नरको रुपमा चितवनका अर्थविद् प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको हो । राष्ट्र बैंक ऐन २०५८ अनुसार उनको कार्यकाल ५ वर्षको हुनेछ । गत चैत २३ मा महाप्रसाद अधिकारीले अवकाश लिएसँगै रिक्त रहेको गभर्नर पदमा पौडेललाई सरकारले नियुक्त गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले गभर्नरका लागि विश्व पौडेल, कामु गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम मंगलबार नै सरकारलाई सिफारिस गरेको थियो । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । सरकारले गभर्नर सिफारिसका लागि गत चैत ११ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सम्मिलित सिफारिस समिति गठन गरेको थियो । गभर्नर एक महिनासम्म पनि नियुक्ति गर्न नसकेको भन्दै भट्टराईले राजीनामा दिएपछि उनको ठाउँमा महाप्रसाद अधिकारीलाई राखिएको थियो ।
पछि समिति सदस्य रहेका पौडेललाई गभर्नर बनाउने सहमति भएसँगै उनले राजीनामा दिएका थिए । उनको राजीनामापछि सरकारले सिफारिस समिति विघटन गरेर अर्थमन्त्री पौडेलकै संयोजकत्वमा नयाँ सिफारिस समिति बनाएको थियो । वैशाख ३१ को मन्त्रिपरिषद् बैठकले पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डेलाई सदस्य नियुक्त गरेको थियो । यही समितिको सिफारिसमा पौडेल गभर्नर बनेका हुन् । यसअघि मंगलबार बिहान प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पौडेललाई गभर्नर बनाउन सहमत भएका थिए ।