चौतर्फी आलोचना र आक्रमणको सामना गरिरहेको लघुवित्त क्षेत्रबाट एक सकारात्मक उदाहरण प्रस्तुत भएको छ । महिला लघुवित्त वित्तीय संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई कर्जा बिमाबापत हिजो बिहिबार ८ लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरी आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको हो ।
ललितपुरको गोदावरी-७ निवासी स्वर्गीय सदस्य ठूली तामाङको परिवारलाई उक्त रकम प्रदान गरिएको हो । संस्थाले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष मथुरा प्रसाद शर्माको उपस्थितिमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका बागमती प्रदेश प्रमुख सुनिल अर्यालले लघुवित्तमाथि भइरहेका आक्रमणप्रति लक्षित गर्दै, “केही अराजक र राजनीतिक उद्देश्य बोकेका समूहले लघुवित्तजस्तो पवित्र संस्थालाई बद्नाम गर्न खोजिरहेका छन्,” भन्नुभयो । उहाँले थप्नुभयो, “यस्ता आक्रमणले दूरदराजका सोझा दिदीबहिनीले पाउने कर्जामाथि नै समस्या पारेको छ । तर, हामी सदस्यको सुख-दुःखमा सधैं साथमा छौँ भन्ने प्रमाण यो सहयोग हो ।”
अतिथि समेत रहनुभएका वडा अध्यक्ष शर्माले संस्थाको कार्यको प्रशंसा गर्नुभयो । “दुःखको बेला यति ठूलो रकमले सहयोग गर्नु र बिनाधितो कर्जा दिएर महिलालाई आत्मनिर्भर बनाउनु निकै सराहनीय छ,” उहाँले भन्नुभयो ।
यो सहयोगले लघुवित्तहरू नाफामुखी मात्र नभएर आफ्ना सदस्यहरूको सामाजिक सुरक्षाप्रति पनि उत्तिकै संवेदनशील छन् भन्ने बलियो सन्देश दिएको छ ।





