काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्। निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण र चिन्ताजनक रहेको उनको भनाइ छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले सरकार परिवर्तनको खेलले देशलाई अनिश्चिततामा धकेल्ने, अर्थतन्त्र कमजोर बनाउने र युवालाई विदेश पलायन हुन बाध्य पार्ने जोखिम रहेको उल्लेख गरेका छन्। यस्तो प्रवृत्तिले देशलाई भूराजनीतिक जोखिममा समेत पार्न सक्ने उनले बताएका छन्।
उनले सरकार र सत्ताका विभिन्न अंगलाई निरन्तर खबरदारी गर्न तथा विपन्न, उत्पीडित र ऐतिहासिक रूपमा वञ्चित समुदायका आवाजलाई प्राथमिकता दिन आग्रह गरेका छन्। सरकारले जनताको आवाज नसुने विधिसम्मत रूपमा दण्डित गर्नुपर्ने उनको भनाइ छ।
सरकारले काम नगरे वा गलत गरे अर्को निर्वाचनमार्फत विदा गर्नुपर्ने उल्लेख गर्दै भट्टराईले निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेसम्म पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्।





