असार १५: हिलोको सुगन्ध र दही चिउराको मिठास

पढ्नै पर्ने

बिनोद पौडेल
बिनोद पौडेल
बिनोद पौडेल एबिएम अनलाईनखबरको सम्पादक हुनुहुन्छ।

आज असार १५, नेपाली धर्ती र किसानको उत्सव मनाउने दिन। खेतका गह्राहरूमा हिलो खेल्दै, मानो रोपेर मुरी फलाउने सुनौलो सपना बुन्दै देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ। यो दिन केवल रोपाइँको चटारोमा मात्र सीमित छैन, यसको अर्को महत्त्वपूर्ण पहिचान हो— दही चिउरा खाने पर्व।

दिनभरको कडा परिश्रमले थाकेको शरीरमा ऊर्जा र शीतलता भर्न दही चिउरा एक अचुक परिकार मानिन्छ। यही विश्वासका साथ किसानहरूले सुरु गरेको यो संस्कृति आज हरेक नेपालीको घर-आँगनमा भित्रिएको छ। खेतीपातीमा संलग्न नभएकाहरू पनि आजको दिन दही चिउराको स्वाद लिएर कृषि र किसानप्रतिको सम्मान प्रकट गर्छन्।

संस्कृतिदेखि स्वास्थ्यसम्म दहीको महत्त्व

नेपाली संस्कृतिमा दहीको स्थान केवल खानपानमा मात्र सीमित छैन। कुनै पनि शुभ साइतमा घरबाट निस्कँदा दहीको टीका र सगुन खुवाउने परम्पराले यसको सांस्कृतिक महत्त्वलाई दर्शाउँछ। दही खाएर थालिएको काम सफल हुन्छ भन्ने गहिरो जनविश्वास रहिआएको छ।

यसको महत्त्व ऐतिहासिक र वैज्ञानिक रूपमा पनि उत्तिकै बलियो छ। गुरु गोरखनाथले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई दही खान दिएर विजयीको आशीर्वाद दिएको प्रसंगले यसलाई पराक्रमसँग जोडेको छ। अर्कोतर्फ, आयुर्वेदले ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ अर्थात् ‘भोजनपछि मोही पिउनेलाई वैद्यको के काम?’ भन्दै यसको गुणगान गाएको छ। आधुनिक विज्ञानले पनि दहीलाई पाचन प्रणालीका लागि अमृत समान मानेको छ। पखाला जस्ता समस्यामा त दही चिउराले औषधिकै काम गर्छ।

यसरी, असार १५ कृषि, संस्कृति र स्वास्थ्यको एक सुन्दर त्रिवेणी बनेको छ। यो दिन खेतको हिलोदेखि शहरको भान्सासम्म सबैलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने एक जीवन्त राष्ट्रिय पर्व हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?