२०८२ असार ०२ गते सोमबार, काठमाडौं।
रामेछाप जिल्ला अस्पतालमा कार्यरत एक डाक्टरले आफूलाई राजनीतिक दबाब, भ्रष्टाचार र निरन्तरको मानसिक यातनाका कारण आत्महत्या गर्न बाध्य पारिएको भन्दै एक लामो र दर्दनाक सामाजिक संजाल फेसबुक मार्फत स्ट्याटस सार्वजनिक गरेका छन्। बागमती प्रदेश लोकसेवाबाट नाम निकालेर रामेछाप अस्पतालमा कार्यरत ती डाक्टरले अस्पताल सुधारको प्रयास गर्दा स्थानीय राजनीतिकर्मी र केही कर्मचारीबाट खेप्नुपरेको प्रतिशोधका कारण आफूले जीवन नै हार खाएको स्ट्याटसमा उल्लेख गरेका छन्।
आफ्नो स्ट्याटसमा डाक्टरले आमाको लामो संघर्षपछि डाक्टर बनेको र विभिन्न ठाउँमा सेवा गर्दै हाल रामेछाप अस्पतालमा कार्यरत रहेको बताएका छन्। करिब २५ महिनाको सेवा अवधिमा १८ महिना अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी सम्हाल्दा आफूले दिनरात खटेर अस्पताललाई व्यवस्थित र उत्कृष्ट बनाउने प्रयास गरेको उनको भनाइ छ।
उनको स्ट्याटस अनुसार, अस्पतालमा प्रणाली बसाउन खोज्दा कामचोर र ठगी गर्ने कर्मचारीहरू त्रसित बनेका थिए। यही क्रममा रामेछाप-८ का केदार कार्की नामक व्यक्तिले आफूसँग पैसा मागेको र उनले भनेको कार्यालय सहयोगीलाई जागिर नदिँदा आफूमाथि प्रतिशोध साँध्न थालेको डाक्टरले आरोप लगाएका छन्।
उनले लेखेका छन्, “केदार कार्कीले मागेको पैसा नदिँदा र उसले भनेको मान्छेलाई जागिर नलगाउँदा, मैले कारबाही गरेका डाक्टरहरूलाई प्रयोग गरी ममाथि झूठा आरोप लगाएर मेरो सरुवा गराइयो।”
कार्कीले आफ्नो कार्यकक्षमै आएर अध्यक्षको अगाडि धम्की दिएको घटना पनि उनले उल्लेख गरेका छन्। “३ दिनमा तेरो सरुवा गरिनँ भने मेरो नाम पनि केदार होइन भनेर धम्की दियो,” स्ट्याटसमा लेखिएको छ। कार्कीले भनेअनुसार अस्पताल चलाउन, उनको होटलको बिल तिर्न र विज्ञापनमा उनकै मान्छे राख्न दबाब दिएको पनि डाक्टरको आरोप छ।
आफूले अनुशासनको कारबाही गरेका कर्मचारीहरूलाई नै प्रयोग गरेर सुनियोजित ढंगले आफ्नो सरुवा गराइएको उनको दाबी छ। छानबिन समिति आएको एक घण्टामै सरुवाको पत्र थमाएर २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन भनिएको घटनालाई उनले “अन्यायोचित” भनेका छन्।
उनले लेखेका छन्, “शरीरमा १६ वटा टाँका, २ वर्षकी छोरी र श्रीमतीलाई लिएर राति ९ बजे रामेछापबाट काठमाडौं आउन बाध्य पारियो।” हेटौंडास्थित स्वास्थ्य मन्त्रालय पुग्दा प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले आफूसँग अमानवीय व्यवहार गरेको, गाडी खोसेको र अलपत्र पारेको पनि उनले बताएका छन्।
उनले मन्त्रालयका डा. नरेन्द्र झा र रेवती थापाको आर्थिक चलखेलमा परेर आफ्नो सरुवा गरिएको गम्भीर आरोपसमेत लगाएका छन्।
आफ्नो कुरा स्वास्थ्य मन्त्रीदेखि सचिवसम्म कसैले नसुनेको गुनासो गर्दै उनले लेखेका छन्, “म बाँचे भने न्याय पाउँछु जस्तो लागेन। असत्यको जित भएको पनि मूकदर्शक भएर बस्न मन लागेन।”
दुर्गममा बसेर अस्पताललाई नेपालकै उत्कृष्टमध्ये एक बनाए पनि पुरस्कृत हुनुको साटो कारबाही भोग्नुपरेकोमा उनले पश्चाताप व्यक्त गरेका छन्।
आफ्नो मृत्युपछि शवमाथि राजनीति नगर्न आग्रह गर्दै उनले आफूलाई यो अवस्थामा पुऱ्याउने अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउन सबैलाई अनुरोध गरेका छन्। स्ट्याटसको अन्त्यमा उनले आफ्नी आमा, श्रीमती (भावना), छोरी, भाइ-बुहारी र अन्य आफन्तसँग माफी मागेका छन्। उनले अस्पताल प्रशासनका केही सहकर्मीलाई सत्य कुरा बोलिदिन पनि आग्रह गरेका छन्।
यो घटनाले नेपालको स्वास्थ्य क्षेत्रमा मौलाएको राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र इमानदार कर्मचारीले भोग्नुपर्ने मानसिक पीडाको डरलाग्दो चित्र प्रस्तुत गरेको छ। यस विषयमा आरोपित व्यक्तिहरू र सम्बन्धित सरकारी निकायको प्रतिक्रिया आउन बाँकी छ।
(सम्बन्धित व्यक्तिको फेसबुक स्ट्याटसको आधारमा तयार गरिएको)