प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लब ‘The Blue Pavilion’ भवनको शनिबार आयोजित समारोहबीच उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको विकासक्रमसँग सम्बद्ध विभिन्न ऐतिहासिक तथ्य, दस्तावेज एवम् घटनाक्रमहरूको संकलन, अध्ययन एवम् विश्लेषण गरी तयार पारिएको ‘नेपाल प्रहरीको इतिहास भाग २’ पुस्तकको समेत विमोचन गर्नुभएको थियो।
प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा योगदान पुर्याउनुहुने प्रा.डा. द्वय शंकर थापा र धनश्याम भट्टराई तथा भवन निर्माणमा योगदान पुर्याउनुहुने प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरी लगायतलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
समारोहमा गृहमन्त्री रमेश लेखकले प्रहरी संगठन केवल कानून कार्यान्वयन गर्ने निकाय मात्र नभई मुलुकको स्थायित्व र शान्ति, सुरक्षा कायम राख्ने महत्वपूर्ण संगठन भएको चर्चा गर्दै प्रहरी कर्मचारीको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक क्रियाकलापहरू अभिवृद्धिका लागि नेपाल पुलिस क्लबले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
कुल ७५ करोड ८७ लाख २९ हजार ८ सय ३० रूपैयाँ ४५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।