काठमाडौं
थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एव थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए । उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौ । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौं। पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौं भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौं।’
उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यसवर्ष ‘थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो । उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ । २० भन्दा थारू संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने उनले बताए ।
महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् । बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटीलगायत विभिन्न परिकारहरुको राखिने छ । महोत्सवमा देशभरका थारू समुदायको उपस्थिति रहने बताए । त्यस्तै हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री बितरणमा थारू हस्तकला तथा थारू जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ । महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मूल आयोजकले जनाएको छ ।