राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाताको ‘मत’लाई लगानी र आफूलाई ऋणीका रूपमा प्रस्तुत गर्दै महत्त्वाकाङ्क्षी ‘नागरिक करार’ सार्वजनिक गरेको छ । यस करारमार्फत रास्वपाले आगामी ५ वर्षभित्र मुलुकको प्रतिव्यक्ति आय ३००० डलर पुर्याउने, १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने जस्ता ठूला भौतिक तथा आर्थिक लक्ष्यहरू अघि सारेको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि २०४६ सालयताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने र सरकारी सेवालाई पूर्ण डिजिटल बनाउने प्रतिबद्धता जनाएको पार्टीले बाचा पूरा नभएमा राजनीतिक नैतिकताका आधारमा पद त्याग गर्ने र अर्को निर्वाचनमा भाग नलिने कडा नैतिक सर्त समेत अघि सारेको छ । विदेशमा रहेका नेपालीलाई अनलाइन मताधिकार र १० वटा सिग्नेचर आयोजना सम्पन्न गर्ने संकल्प गरिएको यस करारलाई रास्वपाले जनताप्रतिको ‘राजनीतिक विश्वासको ऋण’का रूपमा व्याख्या गरेको छ ।






