काठमाडौं — हालैको विनाशकारी बाढी तथा विपद् प्रभावित नागरिकहरूका लागि विदेशबाट पठाइने राहत सामग्रीमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हवाई ढुवानी शुल्क नलिने भएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक महिनाका लागि अन्तर्राष्ट्रिय स्टेसनहरूबाट आउने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क पूर्ण रूपमा छुट दिने घोषणा गरेको हो।
नेपाल एयरलाइन्सका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावासको आधिकारिक पत्रका आधारमा खाद्यान्न, औषधि, लत्ताकपडा लगायतका अत्यावश्यक राहत सामग्री सित्तैमा ढुवानी गरिनेछ। यस छुटले विभिन्न मुलुक तथा गैरआवासीय नेपाली संघ-संस्थाहरूबाट पठाइने राहत प्रभावित क्षेत्रसम्म छिटो र सहज रूपमा पुर्याउन ठूलो सहयोग पुग्ने विश्वास निगमले लिएको छ।





