काठमाडौँ, ८ भदौ : बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका क्षेत्रमा पहिलोपटक नेपाल टेलिकमको फोर–जी मोबाइल र इन्टरनेट सेवा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार भर्चुअल माध्यमबाट यसको उद्घाटन गर्नुभयो ।
समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको बडीमालिकामा जनैपूर्णिमा मेलाको पूर्वसन्ध्यामा सञ्चार सेवा पुगेको हो । उद्घाटनका क्रममा मन्त्री तिमिल्सिनाले दुर्गम क्षेत्रका नागरिकलाई सञ्चारको पहुँचमा ल्याउन सरकार प्रतिबद्ध रहेको र यस वर्षलाई ‘डिजिटल रूपान्तरणको वर्ष’ बनाइने बताउनुभयो ।
सडक पहुँच नभएको सो क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण ढुवानी गरी ४,२३० मिटर उचाइको लौरी विनायकमा टावर जडान गरिएको हो । नेपाल टेलिकमका अनुसार चुनौतीपूर्ण भूगोल र मौसमका बाबजुद एक महिनाको प्रयासपछि सेवा सञ्चालनमा आएको हो ।
यो सेवा विस्तारसँगै बडीमालिका पुग्ने तीर्थयात्री, पर्यटक र स्थानीय बासिन्दालाई सञ्चार सम्पर्कमा सहज हुनेछ । सरकारले यसैगरी जुम्लाको सिँजा, डोल्पा र ताप्लेजुङका दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गरिसकेको छ ।





