काठमाडौं
रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ। विभिन्न जिल्लाहरूबाट प्राप्त विवरण अनुसार चितवनमा सबैभन्दा बढी ३६३, नवलपरासी पूर्वमा २२७, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७६, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको हो।
नेपाल प्रहरीका अनुसार फेला परेकामध्ये १ हजार १ सय ४८ वटा शवको डिएनए नमुना सङ्कलन लगायतका कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। मृतक र आफन्त गरी कुल २ हजार ६ सय ९८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ भने पहिचान हुन बाँकी १ हजार २ सय ९५ शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ। हालसम्म बेपत्ता रहेका ४ हजार ७७ जनाको खोजी कार्य निरन्तर जारी छ भने ३ हजार ३० जना प्रभावितहरूलाई सुरक्षित होल्डिङ सेन्टरमा राखिएको छ।





