अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकर प्रसाद सुवेदीसहित तीन जनाविरुद्ध २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अस्पतालमा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाहीले बिरामीबाट उठाएको रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।
अनुसन्धानका क्रममा शाहीले लेखा अधिकृत सुवेदी र अस्पताल परिसरमा रहेको कुमारी बैंक काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरसँगको मिलेमतोमा रकम हिनामिना गरेको खुलेको हो।
अख्तियारका अनुसार, २०८० साउनदेखि यता संकलन भएको कुल ३४ लाख ३ हजार रुपैयाँमध्ये जम्मा ८ लाख ३६ हजार रुपैयाँ मात्र बैंकमा जम्मा गरी बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ हिनामिना गरिएको थियो।
अख्तियारले तीनै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक सम्पत्ति हिनामिना गरेको कसुरमा हदैसम्मको सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।