प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अपेक्षाअनुसार शासन प्रणाली चल्न नसकेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको मोडेलमा जान संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीका कारण जनतामा व्यवस्थाप्रति असन्तुष्टि बढेको बताउनुभयो। “जनता गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा ‘सर्भिसिङ’ गर्न चाहन्छन्,” उहाँले भन्नुभयो।
अध्यक्ष दाहालले संविधान जारी हुँदाका असन्तुष्टि हल गर्न, प्रदेशको सिमाङ्कन, पहिचान, वित्तीय सङ्घीयता र सामाजिक न्याय जस्ता विषयलाई सम्बोधन गर्न आफूले संविधान संशोधनका लागि दुईतिहाइ बहुमत जुटाउन प्रतिबद्धता जनाउनुभयो।
उहाँले शान्ति सम्झौताका सहयात्री दलहरूले समयमै आत्मसमीक्षा नगरे जनताको धैर्यको बाँध टुट्न सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह समेत गर्नुभयो।