आफ्नै छोराको छुरा प्रहारबाट सुनसरीमा एक व्यक्तिको ज्यान गएको छ। देवानगञ्ज गाउँपालिका–३ का ४० वर्षीय मोहम्मद रियाज अन्सारीले जग्गासम्बन्धी विवादमा आफ्नै ६० वर्षीय बुबा सबिब अन्सारीको हत्या गरेका हुन्।
बुधबार बिहान बाबु–छोराबीच जग्गाको विषयलाई लिएर चर्को विवाद हुँदा रियाजले बुबामाथि छुराले आक्रमण गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका सबिबको विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले आरोपी छोरा रियाजलाई पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी मोतिटप्पुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।





