इनम प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

पढ्नै पर्ने

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) सहित प्रधानमन्त्री तथा गृहमन्त्रीको सचिवालयमा रहेका चार जनालाई तत्काल पदबाट हटाएर पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार ब्यञ्जनकार, प्रधानमन्त्री कार्यालयका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारी, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र प्रधानमन्त्रीका सूचना प्रविधि परामर्शदाता बताइने चिराग श्रेष्ठमाथि तत्काल कारबाही अगाडि बढाउन माग गरेका हुन्।

नेपालखबरमा प्रकाशित समाचार तथा सार्वजनिक भिडियोमा उल्लेखित विवरणलाई आधार बनाउँदै मुभमेन्टले प्रहरी हिरासतमा रहेका सापकोटाको मोबाइल फोन दुई दिनसम्म ब्यञ्जनकारको निवासमा राखिएको र प्रधानमन्त्री कार्यालयका अधिकारीले प्रहरी परिसरमै पुगेर अनुसन्धानबारे सोधखोज गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी नियन्त्रणमा रहेको अभियुक्तको मोबाइल निजी निवासमा कसरी र कसको आदेशमा पुग्यो तथा त्यसमा कसले पहुँच राख्यो भन्ने प्रश्न उठाउँदै मुभमेन्टले डिजिटल प्रमाण मेटिएको, थपिएको वा हेरफेर गरिएको हो कि होइन भनी स्वतन्त्र फरेन्सिक छानबिन गर्नसमेत माग गरेको छ।

यस घटनालाई पदको दुरुपयोगमा मात्र सीमित नराखी राज्यको अनुसन्धान संयन्त्र र न्यायिक प्रक्रियामाथिको राजनीतिक प्रभावका रूपमा व्याख्या गर्दै विज्ञप्तिमा प्रमाण नष्ट गर्ने, झुट्टा प्रमाण सिर्जना गर्ने वा अनुसन्धान प्रभावित पार्ने कार्य पुष्टि भएमा सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख छ। मुभमेन्टले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९, ९२ र ९३ तथा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५, ४६ र ४८ बमोजिम अनुसन्धान गर्न माग गर्दै प्रधानमन्त्री, गृहमन्त्री, सल्लाहकार, राजनीतिक नेता, प्रहरी वा न्यायिक पदाधिकारी कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएको छ।

विज्ञप्तिमार्फत प्रधानमन्त्रीमाथि समेत प्रश्न उठाउँदै संलग्न व्यक्तिहरूलाई बर्खास्त गरी पक्राउ नगरिए प्रधानमन्त्रीकै इशारामा यो सब भइरहेको स्पष्ट हुने चेतावनी दिइएको छ। साथै, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई निजी गिरोह वा गैरकानुनी गतिविधिको संरक्षण केन्द्र बन्न नदिन सचेत गराउँदै राज्यका संयन्त्रले शक्ति दुरुपयोग रोक्न नसके र प्रतिनिधिसभाले राजनीतिक निकास दिन नसके असोज २ र भदौ २४ का घटनाहरू पुनरावृत्ति हुन सक्ने उल्लेख गरिएको छ।

दोषीमाथि निष्पक्ष छानबिन र कारबाही नभए राज्यसत्ताको दुरुपयोगविरुद्ध सशक्त नागरिक प्रतिवादमा उत्रिने चेतावनीसहित प्रवक्ता शाहले जारी गरेको उक्त विज्ञप्ति सर्वोच्च अदालत र नेपाल प्रहरी प्रधान कार्यालयलाई समेत बोधार्थ पठाइएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?