दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह भारत प्रस्थान

पढ्नै पर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो।

प्रधानमन्त्री शाहको ३५ सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप–संयोजक विनय शाक्य सहभागी हुनुहुन्छ। टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी र सरकारी सञ्चारमाध्यमका तीन प्रतिनिधि पनि सामेल छन्।

भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्नुहुनेछ। भोलि सोमबार मंसिर ७ गते राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गरेपछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट र समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने तालिका छ।

भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासमा आर्थिक सहकार्यबारे छलफल हुनेछ। साथै, सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यका सम्पन्न परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास तथा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६:३५ बजे नेपाल एयरलाइन्सकै उडानबाट स्वदेश फर्किनुहुनेछ। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नुहुनेछ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?