काठमाडौं । वित्तीय सुशासन र पारदर्शितालाई आत्मसात् गर्दै २०औँ वर्षमा प्रवेश गरेको खिचापोखरी, न्यूरोडस्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बबरमहलमा मंसिर ४ गते सम्पन्न सभाले अन्य सहकारी संस्थालाई एकीकरण गर्ने र बहुउद्देश्यीय व्यवसाय विस्तार गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ।
कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्वमा सम्पन्न सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म संस्थामा १,९७५ शेयर सदस्य आबद्ध छन्। संस्थाले करिब रु. ८ करोड शेयर पुँजी, रु. ७५ करोडभन्दा बढी निक्षेप संकलन र करिब रु. ३९ करोड कर्जा लगानी पुर्याएको छ। २९ संस्थापकबाट सुरु भएको संस्थाले हाल आफ्नै आधुनिक भवनबाट प्रविधिमैत्री सेवा दिँदै आएको छ भने आधुनिक लेखा प्रणाली र नियामक निकायका निर्देशनहरूको पूर्ण पालना गरेको जनाएको छ।
सभाले कार्यवाहक अध्यक्ष बैदार, लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण बहादुर बस्नेत, कोषाध्यक्ष कृष्ण बहादुर गुभाजु र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदन तथा आगामी आ.व. २०८३/०८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको छ। साथै गैरबैंकिङ सम्पत्ति बिक्री तथा भाखा नाघेको ऋण व्यवस्थापन सम्बन्धी प्रस्ताव पनि अनुमोदन भएको छ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीले चुनौतीपूर्ण आर्थिक अवस्थामा पनि संस्थाले कायम राखेको वित्तीय अनुशासन र गुणात्मक वृद्धि अनुकरणीय रहेको बताउनुभयो। का.म.पा. वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले संस्थालाई न्यूरोड क्षेत्रको नमुना सहकारीको संज्ञा दिनुभयो।
सभामा वरिष्ठ सहकारी विज्ञ कुबेर निरौलाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आगामी दिनमा थप परिष्कृत डिजिटल र सदस्यकेन्द्रित सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थाले वित्तीय कारोबारसँगै साना व्यवसायीका लागि डिजिटल मार्केटिङ तालिम, निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण, रक्तदान र मानव सेवा आश्रममा भोजनजस्ता सामाजिक कार्यसमेत सम्पन्न गरेको जनाएको छ।





