काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थनको अपेक्षा व्यक्त गर्नुभएको छ।
कर्णालीवासीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत उहाँले मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रतियोगिताको औपचारिक उद्घाटन हुने तय भए पनि मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि नै सुरु हुने जानकारी दिनुभएको छ। कर्णालीका विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू सहभागी हुनेछन्।
कर्णालीले पहिलोपटक आयोजना गर्न लागेको यस खेलकुद महाकुम्भले नयाँ खेलाडीको पहिचान, प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा योगदान पुर्याउने उहाँको भनाइ छ। साथै, यसले कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभएको छ।
हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदका हालसम्म ९ वटा मात्र संस्करण हुनु दुःखद पक्ष भएको बताउँदै प्रधानमन्त्री शाहले अब सरकारले उद्देश्यअनुरूप प्रतियोगितालाई नियमित गर्न र स्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले प्रतियोगिताको सफल आयोजनाको शुभकामना दिँदै यसले राष्ट्रिय एकता र आपसी सद्भाव थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।





