काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपिएल) का सबै आठवटै क्लबका लागि आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाइने बताउनुभएको छ।
एनपिएलको विजेता टोली सुदूरपश्चिम रोयल्सलाई सामाजिक सञ्जालमार्फत हार्दिक बधाई ज्ञापन गर्दै उहाँले लिगको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी रंगशाला निर्माण गर्न लागिएको जानकारी दिनुभएको हो।
उहाँका अनुसार ती रंगशालाहरू नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछन्। जसअन्तर्गत फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने उहाँले उल्लेख गर्नुभएको छ।
उहाँले सार्वजनिक गर्नुभएको विवरणअनुसार क्लब र तिनका लागि तोकिएका रंगशालाहरू निम्नानुसार छन् :
- विराटनगर किंग्स : बैजनाथपुर क्रिकेट रंगशाला
- लुम्बिनी लायन्स : सिद्धार्थ क्रिकेट रंगशाला
- कर्णाली याक्स : सुर्खेत क्रिकेट रंगशाला
- सुदूरपश्चिम रोयल्स : फाप्ला क्रिकेट रंगशाला
- काठमाडौं गुर्खाज : कीर्तिपुर क्रिकेट मैदान
- पोखरा एभेन्जर्स : पोखरा क्रिकेट रंगशाला
- जनकपुर बोल्ट्स : रामजानकी क्रिकेट रंगशाला
- चितवन राइनोज : गौतमबुद्ध क्रिकेट रंगशाला
क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभएको छ।





