काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदै हुनुहुन्छ। प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो विदेश राजकीय भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज मध्याह्न १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नुहुनेछ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, सल्लाहकार, उच्च अधिकारी र पत्रकारसहित ३४ सदस्य छन् भने निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा सहभागी हुँदैछ।
भारतीय समयअनुसार अपराह्न ३:४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उहाँलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुहुनेछ। आज साँझ ६ बजे होटल ताजमहलमा भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ।
भोलि मंसिर ७ गते बिहान १० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि हैदरावाद हाउसमा समकक्षी मोदीसँग एक्लाएक्लै तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। मध्याह्न १२:२५ बजे व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान, सम्पन्न परियोजनाको संयुक्त उद्घाटन, नयाँ परियोजनाको शिलान्यास र संयुक्त पत्रकार सम्मेलन तय भएको छ।
त्यसैगरी भोलि अपराह्न ३:१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४:५० बजे स्वदेश फर्किनुहुनेछ। नेपाल सरकारले यो भ्रमण राष्ट्रहितमा केन्द्रित हुने र द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास लिएको छ।





