रसुवामा आएको विनाशकारी बाढीका कारण मङ्गलबार बिहान १०:०० बजेसम्म कुल १ हजार ७ जनाको शव फेला परेको छ । प्रहरीले दिएको जानकारी अनुसार बाढीले पुर्याएको मानवीय क्षतिको विवरण अत्यन्तै हृदयविदारक छ, जसमा सबैभन्दा धेरै चितवन जिल्लामा ३ सय २१ जनाको शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २ सय १६ र नवलपरासी पश्चिममा १ सय ६५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
बाढीको प्रभाव अन्य जिल्लाहरूमा पनि उत्तिकै देखिएको छ । नुवाकोटमा १ सय ३ जना, गोरखामा ६५ जना र धादिङमा ५६ जनाको शव भेटिएको छ । रसुवा र तनहुँमा समान ३८–३८ जनाको मृत्यु भएको छ भने नदीले बगाएर छिमेकी मुलुक भारत पुर्याएका ५ जनाको समेत शव फेला परेको प्रहरीले जनाएको छ । यो महाविपत्तिमा हालसम्म १ हजार ७ जनाले ज्यान गुमाएको आधिकारिक तथ्याङ्क सङ्कलन भएको छ ।
विपदको यो घडीमा प्रहरी प्रशासनले प्रभावित क्षेत्रमा सक्रियताका साथ उद्धार कार्य जारी राखेको छ । बाढीको उच्च जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । स्थानीयवासी र विभिन्न सरोकारवाला निकायहरूको समन्वयमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार गर्नुका साथै बाढी र पहिरोका कारण अवरुद्ध भएका सडकहरू खुलाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ ।





