प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षापछि रसुवाको ल्हेन्दे खोला, भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारमा सरकार युद्धस्तरमा जुटेको बताउनुभएको छ।
आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले उद्धार प्रयासमा कुनै कमी हुन नदिन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको जानकारी दिनुभयो। उहाँले यस दुःखद घडीमा आफूले अत्यावश्यकबाहेकका कार्यक्रमहरू स्थगित गरी सुरक्षा निकायसँग उद्धार कार्यको नियमित रिपोर्टिङ लिइरहेको पनि उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “विपद् सम्भावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ। सरकारी निकायहरूले उद्धारको काम गरिरहेका छन्। त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु।”
रसुवामा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको खबर आएको बताउँदै प्रधानमन्त्रीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विपद्को पीडामा परेका सम्पूर्ण नागरिकप्रति गहिरो सहानुभूति प्रकट गर्नुभएको छ।