काठमाडौँ – मुलुकभरको मौसममा आएको खराबी र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले नेपालको हवाई उडान सेवामा व्यापक असर परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन्।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, आज आन्तरिकतर्फका धेरै उडानहरू ‘डाइभर्ट’ गरिएका छन् भने भरतपुर र तुम्लिङटार विमानस्थलबाट हुने उडान सेवा पूर्ण रूपमा बन्द गरिएको छ। पोखरा विमानस्थलमा आगमन उडान बन्द गरिए पनि प्रस्थान उडानहरू सञ्चालनमा छन्। श्री एयरलाइन्सका विराटनगर र भैरहवाबाट काठमाडौँका लागि उडेका विमानहरू डाइभर्ट गरिएका छन्।
अन्तर्राष्ट्रियतर्फ पनि नेपाल एयरलाइन्स र इण्डिगो एयरका विमानहरू नयाँदिल्ली डाइभर्ट भएका छन् भने एयर इण्डियाको विमान लखनउतर्फ मोडिएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी २,५०० मिटर रहेको छ, तर ‘इनरुट वेदर’ मा आएको खराबीले आन्तरिक उडानमा बढी समस्या आएको विमानस्थल कार्यालयले जनाएको छ।





