अलराउन्डर आन्द्रे रसेलको उत्कृष्ट प्रदर्शनप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा विराटनगरले साविक विजेता जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जित हात पारेको हो।
विराटनगरले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि विशाल सुस्लिङले ४३ र जेम्स निसमले २७ रन बनाए पनि टोलीको हार टार्न सकेनन्। विराटनगरका लागि बलिङतर्फ चम्किएका आन्द्रे रसेल एक्लैले ४ विकेट लिए भने एन्जेलो म्याथुजले २ र रुपेश सिंहले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ३ विकेटको क्षतिमा १ सय ७४ रनको बलियो योगफल तयार पारेको थियो। विराटनगरको इनिङ्समा इमरान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ तथा लोकेश बमले ५० रनको अर्धशतकीय योगदान दिए।
ब्याटिङमा ५२ रनको योगदान र बलिङमा ४ विकेट लिँदै अलराउण्ड प्रदर्शन गरेका रसेल खेलका मुख्य नायक बने। यो जितसँगै विराटनगर ४ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।





