काठमाडौँ । राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को तेस्रो वार्षिक साधारण सभा विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै काठमाडौँमा सम्पन्न भएको छ। संघका अध्यक्ष प्रदीप प्रसाद कोइरालाको अध्यक्षतामा आयोजित सभाले विज्ञापन क्षेत्रको व्यवसायिक सुरक्षा, नीतिगत चुनौती र सांगठनिक विस्तारबारे विस्तृत छलफल गरेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष कोइरालाले मुलुकमा आइपर्ने प्राकृतिक विपत्ति, राजनीतिक अस्थिरता र बदलिँदो सामाजिक परिवेशका कारण विज्ञापन व्यवसायमा प्रत्यक्ष असर परेको बताउनुभयो। “विभिन्न चुनौतीका बाबजुद व्यवसायीहरूले आफ्नो अस्तित्व जोगाइराख्नु प्रशंसनीय छ,” भन्दै उहाँले व्यवसायीहरूलाई उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि एवं संघका संस्थापक अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले सरकारले विज्ञापन व्यवसायीहरूमाथि नीति-नियमका नाममा अनावश्यक ‘लगाम’ लगाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो। व्यवसायीको हकहित विपरित हुने सरकारी कदमका विरुद्ध संघ कानुनी लडाइँ लड्न समेत पछि नहट्ने उहाँले चेतावनी दिनुभयो।
सातै प्रदेशमा सञ्जाल विस्तार गरिँदै
साधारण सभाले विधान संशोधन गर्दै संघलाई सातै प्रदेशमा विस्तार गर्ने महत्वपूर्ण निर्णय गरेको छ। संघका महासचिव विमल खड्काले अब सातै प्रदेशमा कार्यालय स्थापना गरिने र हाल १०५ रहेको सदस्य संख्यालाई चालू आर्थिक वर्षभित्र १५० पुऱ्याउने लक्ष्य रहेको जानकारी दिनुभयो।
सभामा कोषाध्यक्ष अरुण अर्यालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष अमृत पन्थी र द्वितीय उपाध्यक्ष आशिष खड्काले विज्ञापन क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
साधारण सभाको औपचारिक समापनपछि व्यवसायीहरूबीच आपसी आत्मीयता र अनुभव साटासाट गर्न वनभोज (पिकनिक) कार्यक्रम समेत आयोजना गरिएको थियो। आगामी दिनमा व्यवसायीको हक-हित संरक्षण, सीप विकास र संस्थागत सुदृढीकरणमा संघले थप सक्रिय भूमिका खेल्ने सामूहिक प्रतिबद्धताका साथ कार्यक्रम समापन भएको छ।





