सुनसरी ।
धरानमा अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ। धरान उपमहानगरपालिका-१३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा ‘१ एक्स बेट’ मार्फत जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा धरान-१३ का हेमन राई, योगेश लिम्बु, मिलन लिम्बु, सुशान्त घिमिरे, कुमार तामाङ र विवेक थापा रहेका छन्। त्यस्तै, धरान-१ का सुजित साह, धरान-१६ का अशोक लिम्बु, धरान-१५ की भवानी दाहाल र धरान-१७ का प्रज्जवल राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई जुवा खेलिरहेकै अवस्थामा फेला पारेको थियो। प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल समेत बरामद गरेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





