काठमाडौँ – नेपाल प्रहरीले गत वैशाख महिनामा देशभर सञ्चालन गरेको विशेष अभियानका क्रममा अवैध हातहतियार मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । देशभरका विभिन्न स्थानबाट उनीहरूलाई हतियार र गोलीगठ्ठासहित नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गण्डकी प्रदेशबाट सबैभन्दा बढी १४ जना रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना, काठमाडौँ उपत्यका र सुदूरपश्चिम प्रदेशबाट ३/३ जना तथा कोशी, मधेश र बागमती प्रदेशबाट १/१ जना पक्राउ परेका छन् ।
बरामद हतियार र गोलीगठ्ठा
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले जम्मा २९ थान हातहतियार बरामद गरेको छ । जसमा:
- भरुवा बन्दुक: २१ थान
- एयरगन: २ थान
- कटुवा पेस्तोल: २ थान
- चाईनिज पेस्तोल, रिभल्वर र अन्य बन्दुक: १/१ थान
हतियारका साथै उनीहरूबाट ३३४ राउण्ड गोली समेत बरामद गरिएको छ । जसमा एसएलआरको २ सय ६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने ७० राउण्ड र चाईनिज पेस्तोलको १ राउण्ड गोली रहेको छ ।
अपराध नियन्त्रणमा प्रहरीको सक्रियता
प्रहरीले तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट र वन्यजन्तुको शिकार जस्ता गम्भीर अपराधमा अवैध हतियारको प्रयोग हुने गरेको भन्दै यसविरुद्ध देशभर विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ । अपराधमुक्त समाज निर्माणका लागि सूचना सङ्कलनलाई प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ ।
नेपाल प्रहरीले कतै अवैध हतियार लुकाईराखेको जानकारी भएमा तुरुन्त सूचना दिन र त्यस्ता हतियार नजिकैको प्रहरी कार्यालयमा बुझाउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।





