संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ ह्याण्ड्स अस्पताल, चाबहिलमा भर्ना भएका सापकोटालाई चिकित्सकले आज बिहान ३ : ५० बजे मृत घोषणा गरेका थिए ।
नेकपा एकीकृत समाजवादीकाको पार्टी कार्यालय आलोकनगरमा राखिएको सापकोटाको पार्थिव शरीरमा पार्टिअध्यक्ष माधवकुमार नेपाल पार्टीका अन्य नेता झलनाथ खनाल, घनश्याम भुसाल त्यस्तै सभामुख देवराज घिमिरे, पार्टीका अन्य नेता-कार्यकर्ताहरूले समेत श्रद्धाञ्जली अर्पण गरेका थिए ।
पार्टि अध्यक्ष नेपालले सापकोटाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।
सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।
२०७० को संविधानसभा निर्वाचनमा सापकोटा काभ्रेको तत्कालीन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेबाट निर्वाचित भएका थिए भने उनले लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए ।
नेकपा एमाले फुटेपछि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए । माधवकुमार नेपालको नेतृत्वमा को पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्जको भूमिकामा सापकोटा रहेका थिए ।