नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरूभित्र बढ्दो ‘खाली कागजमा हस्ताक्षर’ गर्ने विकृतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन चलिरहेको हस्ताक्षर अभियानलाई संकेत गर्दै उनले यस्तो अलोकतान्त्रिक अभ्यासले भविष्यमा गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिए ।
पत्रकारहरूसँग कुरा गर्दै उनले यो केवल सांसदहरूको विषय नभई सबै नागरिकले सचेत हुनुपर्ने विषय भएको बताए। “खाली कागजमा हस्ताक्षर गर्ने गल्ती कसैले गर्नुहुँदैन,” उनले भने, “यसले विधिको शासनलाई कमजोर बनाउँछ।”
विगतमा पनि यस्तो अभ्यास हुने गरेको प्रसंगमा उनले समय र परिस्थिति बदलिएको बताए । उनका अनुसार, पहिले विश्वासको वातावरणमा हुने काम पनि अहिले गलत मनसायले हुन थालेपछि त्यसले समग्र प्रणालीलाई नै धरापमा पार्ने जोखिम हुन्छ।
नेता कोइरालाले आफू उपसभामुख राना मगरसँग फोन सम्पर्क भएको र उनलाई हटाउने प्रक्रियामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै हस्ताक्षर नगरेको जानकारी दिए।





