६ लाख रुपैयाँ पाउने सपना बोकेर भारत पुगेका एक व्यक्ति डर, धम्की र करकापमा परेर आफ्नो मृगौला गुमाउन बाध्य भएका छन् । यो अमानवीय अपराधमा संलग्न एक संगठित गिरोहका तीन सदस्यलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेका ३५ वर्षीय राजकुमार परियार, नुवाकोटका २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली रहेका छन् ।
ब्युरोका अनुसार, यस गिरोहले पीडितलाई गत जेठमा विभिन्न प्रलोभन देखाई भारतको चण्डीगढ पुर्याएको थियो । त्यहाँ पुगेपछि पीडितले मृगौला दिन अस्वीकार गर्दा उनलाई बन्धक बनाई, डर-त्रास देखाएर गत साउन ९ गते एक क्लिनिकमा जबरजस्ती देब्रे मृगौला झिकिएको थियो । गिरोहले पीडितको मृगौला महँगो मूल्यमा बिक्री गरेको अनुसन्धानमा खुलेको छ ।
ब्युरोले काठमाडौं र काभ्रेमा गरेको छुट्टाछुट्टै कारबाहीमा उनीहरूलाई पक्राउ गरेको हो । हाल उनीहरूलाई संगठित अपराध निवारण ऐन अन्तर्गत अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।





