बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको छ। धुलिखेलमा सोमबार आयोजित समारोहमा जिल्लाका १३ वटै स्थानीय तहका १६ देखि २३ महिनाका ३ हजार १५५ जना बालबालिकाले सबै प्रकारका खोप पाएको तथ्याङ्कसहित यो घोषणा गरिएको हो। गत चैतमा नमोबुद्ध नगरपालिकाबाट सुरु भएको यो अभियान असार ८ गते बनेपा नगरपालिका घोषणा भएसँगै पूरा भएको थियो।
सो अवसरमा मन्त्री थापाले स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरूको मिहिनेतका कारण काभ्रेले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै प्रदेश सरकारले नागरिकको स्वास्थ्य पहुँच बढाउन ‘एक पालिका–एक नमुना स्वास्थ्य संस्था’को कार्यक्रम अघि सारेको जानकारी दिनुभयो। जिल्ला खोप समन्वय समितिका प्रमुख दिपककुमार गौतमले खोप सुनिश्चिततालाई एक मानवीय पुण्यको काम भन्दै यसलाई निरन्तरता दिनु अबको चुनौती रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा उत्कृष्ट योगदान पुर्याउने पालिका र स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्नुका साथै रोटरी क्लब अफ धुलिखेलले स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको थियो।
काभ्रेका सबै बालबालिकाले पाए पूर्ण खोप, स्वास्थ्यमन्त्रीद्वारा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चित’ घोषणा
काठमाडौँ - 🕗२०८३ असार २९ गते सोमबार, काठमाडौं।





