पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाएर भ्रष्टाचार गरेको आरोपमा ५ जना पूर्वमन्त्री, उच्च पदस्थ कर्मचारी र चिनियाँ निर्माण कम्पनीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
आरोपपत्रमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री डा. रामशरण महत लाई विपक्षी बनाइएको छ।
यस्तै, तत्कालीन पर्यटन र अर्थ सचिवहरू, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न मानन्धर, रतीशचन्द्र लाल सुमन तथा तत्कालीन आयोजना प्रमुख प्रदीप अधिकारी सहित ५५ जना र चिनियाँ ठेकेदार कम्पनी चाइना सिएयमसि इङ्गिनियरिङ्ग कम्पनि माथि अभियोग लगाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरुमा विमानस्थल निर्माणको लागत अनुमान करिब १६६ देखि १६९ मिलियन अमेरिकी डलर तय गरेको थियो। तर, सार्वजनिक खरिद ऐन र नियमावली विपरीत ठेकेदार कम्पनी सिएयमसिसँगको मिलेमतोमा उक्त लागतलाई अस्वाभाविक रूपमा बढाइएको आरोप छ।





