काठमाण्डौ– मंसिर शुक्ल पूर्णिमाका दिन आज धान्यपूर्णिमा देशभर मनाइँदैछ। मंसिरमा धान भित्र्याइसकेपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गोठदेवता, महालक्ष्मी लगायतका देवताको पूजा गरी नयाँ धान कुटेर चामल, पीठो बनाउने र सेल, पुरी, मालपुवा जस्ता परिकार चढाउने परम्परा छ।
यस अवसरमा काभ्रेको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवी, नुवाकोटको शिखरबेँसी लगायत स्थानमा मेला लाग्ने गर्छ।
यसैदिन नेवार समुदायले नयाँ धानको खुशीमा योःमरि पूर्णिमा (योमरी पुन्हि) मनाउँदैछन्। नयाँ धानको चामल, चाकु र तिलबाट बनाइने योमरी उनलाई खाद्यपदार्थको विशेष चाडका रूपमा मनाइन्छ। नेवार समुदायले भकारी र कोठीमा पूजा गरी योमरी चढाउने चलन छ।





