काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ।
अक्टोबर १६ मा आयोजित तियान्फु पुस्तक प्रदर्शनीका क्रममा लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, भीष्म उप्रेतीको ‘हिमालय, शेर्पा र यती’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तको ‘चुली’, डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ र सुलोचनाको ‘जीवनबाट जीवन सिकौँ’ सार्वजनिक गरिएको हो।
नेपाल र चीन सरकारबीच सन् २०२३ सेप्टेम्बर २५ मा भएको समझदारीअनुसार दुवै देशका २५–२५ पुस्तक एकअर्काको भाषामा अनुवाद गरी प्रकाशन गर्ने परियोजना अघि बढाइएको थियो।
यस पहलले नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्नुका साथै नेपाल–चीनबीच साहित्यिक आदानप्रदान र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





