सिन्धुली, लगातार वर्षा र पहिरोको जोखिमका कारण बीपी राजमार्गमा यातायात अवरुद्ध हुने सम्भावना बढेको छ। यससँगै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीपछि प्रशासनले १३ देखि १५ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै अनावश्यक यात्रा नगर्न अनुरोध गरेको हो।
प्रशासनले विशेष गरी बीपी राजमार्ग, मध्यपहाडी राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम रहेकाले यात्रा गर्नुअघि मार्गको अवस्थाबारे जानकारी लिन सवारी चालक र यात्रुलाई सचेत गराएको छ।
त्यस्तै, पहिरो वा डुबानको सम्भावना भएका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सर्न, उद्धार र राहत सामग्री तयार राख्न, र विपद् व्यवस्थापन निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।






