आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षामा अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ।
यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र १५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी रहेका छन्। परीक्षा सञ्चालनका लागि २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ।
परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो । प्रत्येक केन्द्रमा एकजना केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी करिब ६४ हजार ७६२ जनशक्ति परिचालित गरिएको थियो ।
परीक्षा तालिका अनुसार चैत ८ गते अनिवार्य नेपाली, चैत ११ गते अनिवार्य गणित, चैत १२ गते अनिवार्य विज्ञान, चैत १३ गते सामाजिक अध्ययन, चैत १४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण, चैत १५ गते ऐच्छिक प्रथम र चैत १६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ। प्राविधिक धारतर्फको परीक्षा भने चैत २० गतेसम्म सञ्चालन हुनेछ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको एसईई परीक्षामा जापानको टोकियोमा पनि परीक्षा केन्द्र तोकिएको छ, जहाँ नेपाली विद्यार्थीहरूले परीक्षा दिनेछन्।
एसईई परीक्षाको पहिलो दिन नै मधेशका जिल्लामा परीक्षा सुरु भएको एक घण्टामै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको थियो। भने केही परीक्षा केन्द्रमा खुल्लमखुला चिट चोरी भएका तस्वीर तथा भिडियो समाजिक सञ्जालबाट सार्वजनिक समेत भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा समयमै उपस्थित हुन, परीक्षा नियमावलीको पालना गर्न र अनुशासनमा रहन आग्रह गरेको छ। साथै, परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।